दुई नम्बर प्रदेशमा आज तेस्रो चरणको निर्वाचन हुदै, ६६२७ पदका लागि ३७२३६ उम्मेदवार प्रतिस्पर्धामा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१ असोज । निर्वाचन आयोगले भोलि हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।

प्रमुख निर्वाचन आयुत्त, डा अयोधि प्रसाद यादवले आइतबार पत्रकार सम्मेलन गरी मतदान सञ्चालन गर्न सवै तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा निर्वाचन हुन लागेको हो ।

आयोगले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग अनुरोध गरेको छ । यसअघिका निर्वाचनजस्तै असोज २ मा पनि अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोगले निर्देश दिएको छ । त्यस्तै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्ने जनाएकोे छ ।

तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ ९३९ प्रतिशत० र पुरुष २२ हजार ८६१ ९६१ प्रतिशत० को उम्मेदवारी परेको छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।