काठमाडौँ, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन कार्य सञ्चालन गर्न सरल र मतदातालाई मतदान गर्न सहज हुने किसिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र तयार गर्न निर्वाचन आयोगलाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी मंसिरमा सञ्चालन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिने मतपत्रको प्रारम्भिक ढाँचाका सम्बन्धमा भएको छलफलमा प्रधानमन्त्री देउवाले उक्त सुझाव दिएका हुन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन सम्पन्न गर्न छोटो समय उपलब्ध भएको सन्दर्भमा मतपत्र छोटो समयमै छपाइ गरी मतदान केन्द्रसम्म पु¥याउन सकिने गरी आयोगले मतपत्रको प्रारम्भिक ढाँचा तयार गरेको जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट प्रस्तुत विचारलाई समेत ध्यान दिएर आयोगले मतपत्र तयार गरी छपाइ गर्ने बताउनुभएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
छलफलमा प्रमुख राजनीतिक दलका नेताहरु रामचन्द्र पौडेल, शशाङ्क कोइराला, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्णबहादुर खड्का, राजेन्द्र पाण्डे र डा मीनेन्द्र रिजालको सहभागिता थियो ।