चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ५  असोज ।  निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ ।

हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउनसक्ने जनाउँदै आयोगले त्यसप्रकारका गतिविधि नगर्न आग्रह गरेको हो ।

सार्वजनिकरूपमा सार्वजनिक स्थानमा यसप्रकारका चियापान समारोह तथा भोजभतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई उक्त कुराको जानकारी गराउने निर्णयसमेत गरेको छ ।