बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, ५ असोज । धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो ।

स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा रहेको छ । सो बैंकले रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजारको हकप्रद शेयर जारी गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार रु आठ अर्ब चुक्ता पुँजी पु¥याउन बैंकले हकप्रद शेयर जारी गर्न लागेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हकप्रद शेयर दिने र टुरिजम डेपलभमेन्ट बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी रु नौ अर्बमाथि पुग्ने बताए । दशैँलगत्तै मेघाले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष साधारणसभासमेत बोलाइएको छ ।

हकप्रद शेयर जारी गर्न लागेका वित्तीय संस्थामा छवटा विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, समिट माइक्रोफाइनान्स विकास बैंक, एक्सेल विकास बैंक, ओम विकास बैंक, नेपाल कम्युनिटी विकास बैंक र भार्गव विकास बैंक रहेका छन् । अधिकाशं विकास बैंकले चुक्ता पुँजी पु¥याउन हकप्रद शेयर जारी गर्न लागेका हुन् ।

यस्तै, हकप्रद शेयर जारी गर्न लागेकामा पाँचवटा लघुवित्त संस्था रहेका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आएसडिसी लघुवित्त, समटि माइक्रोफाइनान्स, गुह्श्वेरी मर्चेन्ट बैंकिङ र जनरल फाइनान्स कम्पनी रहेका छन् । विभागले गत साउन २ गतेदेखि गत भदौ २५ गतेसम्म ती वित्तीय संस्थालाई हकप्रद शेयर निस्कासनका लागि अनुमति दिएको सहायक प्रवक्ता डा नवराज अधिकारीले जानकारी दिए ।

यस्तै ‘क’ वर्गका वित्तीय संस्थाका रुपमा रहेको सेञ्चुरी बैंकले पनि हकप्रद शेयर निस्कासन गरेको थियो । चुक्ता पुँजी रु आठ अर्ब पु¥याउने दबाबमा रहेका ‘क’ वर्गका बैंकलाई राष्ट्र बैंकले थप ६ महिना समय दिएको छ । सो अवधिभित्र चुक्ता पुँजी पु¥याउनै पर्नेछ ।

यस्तै धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले हकप्रद शेयर निस्कासनका लागि आवेदन दिएका छन् । कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता शेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य रु १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रहेको छ । रासस