सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बुटवल, ७ असोज (रासस)। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ । राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो ।

पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा ती सवारी साधन च्यापिएर तीनमा सवार तीनजनाको ज्यान गएको हो । पहिरोले च्यापिएर कारमा सवार दुईजनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा तीनजना र ट्रकमा एकजना सवार थिए । दुर्घटनाका कारण बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए । प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ ।