काठमाण्डौ,८ असोज । नेकपा एमालेका नेताहरुले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउन पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनुपर्नेमा दिएका छन । पार्टी केन्द्रिय समितिको शनिवारको बैठकमा उनीहरुले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी मुलुकको समृद्धि र रुपान्तरणको स्पष्ट खाका तयार पार्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । बैठकमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्नेमा पनि जोड दिइएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए। बैठकमा नेताहरुले सबै प्रदेशहरुमा बहुमत ल्याउन पार्टीको संगठनलाई अझै चुस्त बनाउनुपर्ने आवश्यक्ता पनि आंैल्याएका थिए ।
एमाले नेताहरुले आसन्न निर्वाचनमा बहुमत ल्याउन समान धारणा भएका राष्ट्रवादी शक्तिहरुबीच सहकार्य गरेर अघि बढन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन । नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेपनि विचलित हुने अवस्था भने नरहेको निष्कर्ष पनि निकालेका छन । बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका कतिपय नेताहरुले भने पार्टी अध्यक्ष ओलीको मधेश विरोधी अभिव्यक्तिका कारण प्रदेश नम्बर २ को स्थानीय तहमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको आरोप लगाएका थिए ।शुक्रबारबाट सूरु भएको केन्द्रिय समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम शनिवार सकिएको छ । आज (आईतबार) पार्टी अध्यक्ष ओलीले नेताहरुले उठाएको विभिन्न प्रश्नको जवाफ दिने छन।