संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेस्द्वारा नेपालको निर्वाचनको प्रशंसा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

न्यूयोर्क, ८ असोज (रासस) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच आज भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालमा संविधान जारी भएपछि सबै दलको सहभागितामा उत्साहपूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने चरणमा रहेको अवगत गराएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले महासचिव गुटेर्रेस्लाई नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको समावेशीता सुनिश्चित भएको बताएका थिए। प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको बारेमा समेत उनलाई जानकारी गराएका थिए ।

महासचिव गुटेर्रेस्ले नेपालमा हालै गएको बाढी पहिरोबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गर्नुभएको भेटवार्तामा सहभागी परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए । भेटमा महासचिव गुटेर्रेस्ले नेपालले विश्व शान्तिका लागि नेपाली सेना पठाएर गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि गर्नुभएको आग्रहलाई महासचिव गुटेर्रेस्ले सकारात्मक लिएका छन। प्रधानमन्त्री देउवाले नेपालले शान्ति सेनामा पुर्याएको योगदानका आधारमा शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने विषयमा समेत कुरा राखेका थिए।

राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले हिजाे महासभालाई सम्बोधनपछि महासचिव गुटेर्रेेस्सँग भेटवार्ता गरेका थिए ।