काठमाडौँ, १२ असोज (रासस) । दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् । चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ । सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क–सुन्दरीजल रुटमा चल्ने सिटी यातायात व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो पाेखे । महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उनले सुनाए।
यसैबीच,महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकार रुटमा चल्ने भनी रुट परमिट लिएका सवारी रुटमा नचले त्यसको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने बताए। दशैँको अवसर पारेर बढी भाडा लिने १४ वटा लामो दूरीका, ६० वटा ट्याक्सी र बढी भाडा लिन बिचौलियाको काम गर्ने ३३ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको उनले बताए ।
यस्तै,बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ । सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो । प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ ।काठमाडौँको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन । मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् ।