एकसातादेखि माडीमा विद्युत् सेवा अवरुद्ध

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, १७ असोज । चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ । विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैँ मनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा शुरु गर्न समय लाग्ने जनाएको छ । केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार यही असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् बन्द भएको हो । दशैँ बिदाका कारण विद्युत् सञ्चालनको प्रयास शुरु हुन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ रहेका चार हजारभन्दा बढी ग्राहक प्रभावित भएका छन् ।

अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा शुरु भएको थियो । विद्युत् बालेपछिको पहिलो दशैँसमेत उपभोक्ताले अन्धकारमा मनाउनुपरेको छ ।