काठमाडौँ, १७ असोज ( रासस) : निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ ।
सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार भई होशियारीपूर्वक काम गर्न निर्देशन दिए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र व्यवस्थित तुल्याउन आयोगको व्यवस्थापन चुस्त र दुरुस्त हुन आवश्यक रहेको बताउँदै डा यादवले मतपत्र छपाइ र व्यवस्थापनमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने भएकाले त्रुटिरहित तरिकाबाट आआफ्नो जिम्मेवारी पूरा गर्न सहभागीलाई निर्देशन दिए ।
आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको काम निकै संवेदनशील र जटिल भएकाले त्यसमा संलग्न कर्मचारीलाई कुनै कमजोरी हुन नदिने ढंगबाट जिम्मेवार भएर काम गर्न सुझाव दिए ।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनमा खटिने हरेक कर्मचारी कामप्रति संवेदनशील, गम्भीर र नियमित हुन तथा मतपत्रको छपाईसम्बन्धी गोपनीयता कायम राख्न र कामको प्रगतिको विवरण समयमै उपलब्ध गराउन सुझाव दिए।