निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १७ असोज  (रासस) : सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।नेकपा एमाले,   माओवादी केन्द्र र नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच आज भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए । सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताए । यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने  उनको भनाइ छ । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आजै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन भने भोलि बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्ने छन । काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।