चुनावी घोषणा पत्र बनाउन एमालेसहित तीन दलको कार्यदल गठन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ असोज । चुनावी तालमेल गरेर जाने सहमति गरेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी घोषणा पत्र बनाउन कार्यदल नै गठन गरेको छ ।
पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि पनि ३ वटै पार्टी सम्मिलित निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण समिति पनि बनाएको छ । एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपार्टीस्थित निवासमा बुधबार बसेको बैठकले एमाले महासचिव इश्वर पोखरेल नेतृत्वको ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल बनाएको हो । कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलमा एमालेका महासचिव पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहनु भएका एमाले उपाध्यक्ष गौतमले जानकारी दिए । त्यसैगरी चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन।

पार्टी एकता संयोजन समितिले समानुपातिक तर्फको उम्मेदवारी भने आ– आफ्नै दलको तर्फबाट दिने निर्णय पनि गरेको छ । समानुपातिक तर्फको उम्मेदवारी आ–आफनै पार्टीको तर्फबाट दिने निर्णय गरिएको पनि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारी निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ ।तीन पार्टीले मंगलबार पत्रकार सम्मेलन गरी आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति गरेका थिए ।