चितवन, २१ असोज ।मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिए।
भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिए ।
यस्तै भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन । सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ ।