काठमाण्डौ,२१ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गरेका छन । समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले निर्वाचनका बारेमा दुबिधा नराख्न आग्रह गरे।
प्रमुख निर्वाचन आयुक्त डा यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरे । यही असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाई सक्नु पर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनले अबको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता दिने मिति पनि आईसकेको बताए।
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले जसरी पनि चुनाव जित्ने मनसाय नराख्न भन्दै , आचारसंहिता उलंघन भएको पाइएमा कारबाही हुने चेतावनी दिए ।

