खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

कञ्चनपुर, २६ असोज । खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् । बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभागी वडाध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताएका हुन।
ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारसँग शौचालय नहुँदा खोला, किनारा र खेतमा शौच गर्नका लागि जाने गरेको पाइएको वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले बताए ।

आर्थिक अवस्था कमजोर रहेका कारण ती परिवारले नगरपालिकाले सबै सेवासुविधा रोक्दासमेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएका हुन् । शौचालय निर्माण गरिएका भए पनि जनचेतनाको अभावका कारण अधिकांश स्थानीय बासिन्दाले प्रयोगमा ल्याएका छैनन्।धेरैले शौचालयमा दाउरा राख्ने र घाँस थन्क्याउने ठाउँका रुपमा प्रयोग गरेको पाइएको छ ।रासस