नयाँ शक्तिले सूर्य चुनाव चिह्न छाड्यो,आफ्नै चुनाव चिह्नबाट लड्ने

arjun Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २७ असोज । नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ ।

यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नं २ बाट पार्टी संयोजक डा बाबुराम भट्टराई, कैलाली– ३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु– १ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ । समानुपातिकतर्फको बन्दसूची तयार पार्ने र विभिन्न पक्षसँग वार्ता–छलफल गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ ।