काठमाडौं,२९ असोज । ८८ वटै राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । आयोगले आज (आइतवार) साँझ पत्रकार सम्मेलन गरी ८८ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आन्तरिक दलीय भागवण्डा मिलाउन नसकेका प्रमुख तीन दलले तिहारपछि अर्को संशोधित सूची बुझाउने गरी आज आयोगमा बन्दसूचीको पत्र बुझाएको जानकारी दिए । ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत भने कार्यालय समय सकिनुभन्दा केही समय अघिमात्रै पुगेकाले बेलुका अबेरसम्म पनि सूची दर्ता जारी थियो ।केही ढिलाई गरेर भएपनि सबै राजनीतिक दलहरुले धैर्यतापूर्वक बन्दसूची बुझाएको उनको भनाई थियो । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सरकार र दलहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरे ।
निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको सूचि बुझाउन आइतबार विहान १० बजदेखि साँझ ५ बजेसम्म समयसीमा तोकेको थियो ।