झापा, ६ कात्तिक । डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए ।
केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको मेहेताले बताए।
गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ ।हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बर्दिवासमा डेंगुबाट दुई सय ६३ जना प्रभावित
उता महोत्तरीे बर्दिबास नगरपालिकाभित्र डेंगुरोगबाट दुई सय ६३ जना प्रभावित भएका छन् । असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण आज बिहानसम्ममा दुई सय ६३ जनामा देखिएको हो । ती मध्ये दुई सय ४५ जना स्थानीयबासिन्दा तथा बाँकी १८ जना सिन्धुली र धनुषा जिल्लाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
डेंगुका बिरामी बढ्दै गएपछि बर्दिबास क्षेत्रमा त्रास फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र अन्य सामाजिक संघसंस्थाले डेंगु नियन्त्रणको संयुक्त पहलकदमी देखाए पनि यो अझै नियन्त्रण हुन सकेको छैन् ।
डेंगु नियन्त्रण हुन नसक्दा संक्रमण हुनेको संख्या दिनानुदिन थपिँदै गएको छ । संक्रमित अस्पतालको प्रत्यक्ष निगरानीमा रहेका र उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य प्रशासक डा राजिव झाले बताउनुभयो ।
डेंगु संक्रमितमध्ये पाँच जनामा गम्भीर समस्या देखिएको सो रोगकोे उपचारमा सलग्न बर्दिबासस्थित जनसेवा हस्पिटलका चिकित्सक डा गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर समस्या देखिएका पाँचै जनालाई थप उपचारका लागि राजधानीस्थित टेकु अस्पताल पठाइएको उनले बताए ।