काठमाण्डौ,१३ कात्तिक । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा आज सार्वजनिक गरेको छ । ८४ पृष्ठ लामो उक्त घोषणापत्रमा वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गरिएको छ ।
साथै उसले आफ्नो घोषणापत्रमा कम्युनिष्टहरु लोकतन्त्रको पक्षमा कहिल्यै निष्ठापूर्वक नउभिने आरोप लगाएको छ ।‘एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरिएको छ
यस्तै कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्बृद्धिको वाधक भनेको छ भने माओवादीलाई पनि एमालेलाई जस्तै कडा आलोचना गरेको छ । उसले माओवादीमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको बताएको छ ।
कम्युनिष्टले जिते अस्थिरता र भ्रष्टाचार बढ्ने दाबी
कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसको दाबी छ ।‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,’ घोषणापत्रमा भनिएको छ।
कांग्रेसले संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एंव निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले संविधानका नयाँ उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको बताएको छ।
कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी प्रमाणित भएको आरोप लगाएको छ।