प्रत्यक्ष तर्फको निर्वाचनमा छुट्टाछुट्टै मतपत्रकाे छपाइ शुरु : आयोग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फ छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरी छपाइ कार्यसमेत शुरु गरिसकेको जानकारी गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आफ्नो कार्यकक्षमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरी छपाइ कार्यसमेत प्रारम्भ भइसकेको औपचारिकरुपमा जानकारी गराएका हुन ।मतपत्रका बारेमा सर्वाेच्च अदालतमा परेको रिटमाथि अदालतले दिएको आदेशको सम्मान गर्दै आदेशको मर्म र भावनाअनुरुप बेग्लाबेग्लै मतपत्र छपाइ गर्ने क्रममा बझाङ र बैतडी जिल्लाको मतपत्र छपाइ शुरु भइसकेको उनले बताए ।

समयको चाप, मतपत्रको छपाइ, मतदाता शिक्षा, ढुवानी, जनशक्ति, मतपेटिका, तालीम आदिजस्ता विषयको व्यवस्थापन गर्न निकै कठिन र चुनौती भएपनि संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको आगामी निर्वाचनको सुनिश्चिततालाई आयोगले अदालतको भावना र मर्मको सम्मान गर्दै तोकिएकै मितिमा निर्वाचनको जिम्मेवारी पूरा गर्ने दृढताका साथ अघि बढेको प्रमुख निर्वाचन आयुक्त डा यादवले जानकारी दिए । मतपत्र फरक भएपछि मतपेटिकाको कसरी व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल भइरहेकोमा त्यो विषय पनि छिट्टै टुङ्गो लगाउने सो अवसरमा जानकारी दिइयो ।