काठमाडौँ, १४ कात्तिक । आज बिहान पक्राउ गरिएका पूर्वसांसद एवं नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले डिल्लीबजारस्थित सदरखोरमा राखेकाे छ ।उनी विक्रम संवत् २०८६ सालमा मात्रै त्यहाँबाट मुक्त हुनेछन्। प्रहरीले उनलाई पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा पुर्याएको थियो। निर्देशनालयका ध्रुवकुमार ढकालका अनुसार उनको १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान बाँकी छ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।