काठमाण्डौ,१५ कात्तिक । ठगी गर्ने दरबारमार्गका फरार व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगि गर्दै आएका ९ जना व्यापारीलाई पक्राउ गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।
उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्पर्कबिहीन भएका थिए । व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका थिए ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो ।