चितवन,२१ कात्तिक ।सरकारले निर्वाचन आचारसंहिता विपरित चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिने शुल्क मिनाहा गरेको छ । मन्त्रीपरिषदको सोमवार बसेको बैठकले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा लिइदै आएको शुल्क हटाउने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो बाटोमा यात्रा गर्दा शुल्क नलिने निर्णय गरिएको चितवन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डले पुष्टि गरे । मंगलबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उहाँले आफ्नोे प्रस्तावमा मन्त्रीपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाउने निर्णय गरेको दावी पनि गरे ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार पाण्डेले चितवन राष्ट्रिय निकुन्जमा सुरुङ मार्ग र आकाशे पुल बनाउँछु भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेपनि तत्काल त्यो सम्भव नरहेको दावी पनि गरे । आफ्ना प्रतिस्पर्धी दाहालले रोल्पा र सिरहामा विकास गर्छु भनेपनि केही नगरेको उनको आरोप छ ।माओवादी केन्द्रका अध्यक्ष दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष पाण्डेबीच चितवन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा हुँदैछ ।

