आइतवारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

चितवन,२३ कात्तिक । सडक बिस्तारका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि रोकिएको भित्तो काट्ने कामलाई आइतबारदेखि पुनः निरन्तरता दिनका लागि सडक बन्द गर्न लागिएको हो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । उनका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार भित्तो काट्ने समयमा सवारी रोक्नका लागि रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोष्ट सिमलताल र इलाका प्रहरी कार्यालय मुग्लिनलाई जिम्मेवारी दिइएको छ ।

सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । विस्तारको क्रममा रहेको मुग्लिन नारायणगढ सडकमा अहिले सम्म ५७ प्रतिशत काम सम्पन्न भएको छ ।