अमलेखगञ्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २४ कात्तिक ।नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको आज स्थलगत निरीक्षण गरेका छन । परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली आज नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । संयुक्त टोलीले निरीक्षणका क्रममा खास गरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने सम्बन्धमा निरीक्षण गरेको उनले बताए।
अमलेखगञ्जदेखि रक्सौलसम्मको निरीक्षण क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भए पनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको छ ।
तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौँमा सो परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ । अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने बताइएको छ ।

निर्माण शुरु भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने समयावधि तोकिएको परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता गोइतले जानकारी दिए । सो परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ । यसको कुल लम्बाइ ७२ किमी छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।(रासस)