चितवन, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको बताएका छन। दिनभर चुनावी घरदैलो कार्यक्रममा सहभागी अध्यक्ष दाहालले पश्चिम चितवनको पटिहानीस्थित पदमपोखरीमा आज साँझ भएको चुनावीसभाका क्रममा अभियान अहिले निर्वाचनका कारण मात्रै रोकिएको बताए।
निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनलगत्तै कम्युनिष्ट गठबन्धन एकतामा परिणत हुने जिकिर गर्दै अन्य कम्युनिष्ट पार्टीलाई समेत एक बनाएर एउटा केन्द्र निर्माणको प्रयास जारी रहेको बताए । निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै नेता दाहालले सबै कम्युनिष्ट उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गरे । चितवनको विकास गरी नमुना सहर बनाउन आफू यहाँ आएको उल्लेख गर्दैे पूर्वप्रधानमन्त्री दाहालले यहाँको राप्ती, नारायणीमा तटबन्धन गरी चक्रपथ निर्माण गर्ने आश्वासनसमेत दिए । (रासस)