प्रधानमन्त्री देउवा अाजबाट पश्चिम नेपालको चुनावी अभियानमा ( कार्यक्रम सहित)

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २८ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजदेखि पश्चिम नेपालको चुनावी अभियानमा निस्कने भएका छन । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार  प्रधानमन्त्री अाज नेपालगन्ज प्रस्थान गर्ने छन ।

सोही दिन उनले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्ने छन । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन देउवाले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल गर्ने छन । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्ने छन ।

नेता खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्ने र ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।