३६ दिनपछि गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौँ, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जानकारी दिए ।
फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै पक्राउ परेका प्रकाश बुढाथोकी घटनाका योजनाकार समिरमानसिंह बस्नेतका आफन्त रहेको र उनैले नेपाल बाहिर रहेका बस्नेतको निर्देशनमा नेपालभित्र काम गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरीले नायब प्रहरी महानिरीक्षक गणेश केसीको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । सोही टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । सो समूहले गौचनसँग रकम माग गरेको र नपाएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको नायब महानिरीक्षक केसीले जानकारी दिए। (रासस)