पशुपतिमा बाला चतुर्दशीको मेला भर्नेकाे घुइँचाे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ३०  कात्तिक । पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । अाज साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएकाे छ । बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुनसक्ने अन्य स्थानसमेत कोषको तर्फबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन गरिएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा सत्बीज नर्छन् र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ ।

यस अवसरमा मादक पदार्थ एवं नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन सूचित गरिएको छ ।

भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ ।
बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवं घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवं मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ ।