काठमाण्डौ,३ मंसिर ।निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ । निर्वाचन कानुन अनुसार छानवीन भई २ सय ५६ जनाको उम्मेदवारहरु अयोग्य ठहरिन आएको निर्वाचन आयोगका सचिव बेजेन्द्रराज शर्मा पौडेलले जानकारी दिनु भयो । निर्वाचन आयोगले ३ जना उम्मेदवारीले भने आफैले उम्मेदवारी फिर्ता लिएको पनि स्पष्ट पारेको छ । गत कार्तिक १७ गते दलहरुले बुझाएको संशोधन सहितको बन्द सूचिमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार २ सय ७३ र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारी कायम रहेको पनि जनाएको छ । समानुपातिक तर्फको कोटा प्राप्त गर्न राजनीतिक दलहरुले प्रतिनिधि सभा तर्फ कम्तीमा ३ प्रतिशत र प्रदेश सभामा कम्तीमा १ दशमलव ५ प्रतिशत मत अनिवार्य रुपमा पाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले मंसीरको अन्त्यसम्ममा समानुपातिक तर्फको निर्वाचनको मत परिणाम पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।