काठमाण्डौ,५ मंसिर । बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष सरकारी अध्ययनले निकालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार गरेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले किसानले उत्पादन गरेको तरकारी बिचौलियाले एक सय २२ प्रतिशतसम्म नाफा खाएर उपभोक्तालाई बेच्ने गरेको देखाएको हो । तरकारीको मूल्य ह्वात्तै बढेपछि विभागले गत २८ कात्तिकदेखि ४ मंसिरसम्म काभ्रे, धादिङ, नुवाकोट र मकवानपुरका तरकारी उत्पादनको पकेट क्षेत्रमा अनुगमन गरेको थियो ।
विभागले पाँचखाल, धादिङ, नुवाकोट, दामन, पालुङ, बज्रबाराही र टिष्टुङको तरकारी संकलन केन्द्र र काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल विकास समितिको थोक तथा खुद्रा मूल्य विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो ।