प्रतिनिधिसभाका ८९ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न (अपडेट)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँं,२४ मंसिर । यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ८९ क्षेत्रको मतगणना सम्पन्न भएको छ । यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ जसमा १५३ पुरुष र आठ महिला निर्वाचित हुनुभएको छ ।

आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन् । मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आज बिहान १०ः३० बजेदेखि शुरु भएको जनाइएको छ ।