निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई मोदीको बधाई

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ६ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बधाई दिनुभएको छ ।

भारतीय प्रधानमन्त्रीले आज प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।यस्तै आजै, भारतीय प्रधानमन्त्री मोदीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिनु भएको छ ।
अपराह्न अध्यक्ष ओलीलाई टेलिफोन गरी मोदीले हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिनुभएको हो । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिनुभएको थियो ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिनुभएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिनुभएको हो । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ ।