कञ्चनपुर, ७ पुस । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ ।
दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने गरेका छैनन् । ६२ वर्षीया एकल महिला पार्वती भाटले छोराले सधैँ मदिरा पिएर श्रीमतीलाई कुट्न थालेपछि प्रतिरोध गर्दा आफू माथिसमेत कुटपिट हुँदै आएको बताउनुभयो ।
छोराले मदिरा पिएर आएको थाहा पाउने बित्तिकै बुहारी, नाती नातीनीसहित कुटिनबाट जोगिनका लागि खेतबारीमा गएर लुकेर रात बिताउने गरेको उहाँले बताउनुभयो । “चिसोका बेला कसरी खेतमा बसेर रात काट्नु पर्छ, हामीलाई नै थाहा छ”–उहाँले भन्नुभयो, “यसबाट मानसिक र शारीरिक यातना खेप्न बाध्य भएका छौँ ।”
घरमा राखेको अन्न, बजारबाट खरिद गरेको साबुन, सोडा र बारीमा लगाएको तरकारीसमेत बेचेर घरका पुरुषले मदिरा पिउँदै आएकाले महिलाले पीडा खेप्नु परेको स्थानीय कलावती विष्टको भनाइ छ । “मदिरा नपिउने भए यहाँका महिलाका सुखका दिन आउँथे, महिलाका दुःख थाहा पाउने कोही छैन, यहाँका महिलाले पीडा संगालेर बस्नु परेको छ ।” मदिराले निम्त्याउने हिंसाका कारण श्रीमतीले छाडेर जाँदासमेत धेरै पुरुषको बानी सुध्रिएको छैन ।(रासस)