काठमाडौँ, ८ पुस । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयलाई सधैँ संक्रमणकालीन अवस्थामा राख्न नसकिने हुँदा अब बन्ने सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको ६७ औँ स्थापना दिवसका अवसरमा कार्यालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायालयप्रति रहेको जनविश्वासलाई अझ बलियो बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।
उहाँले सातवटा प्रदेशमा सातवटा उच्च अदालतले न्याय सम्पादन हुनसक्ने चर्चा गर्दै न्यायापालिकाका सेवालाई चुस्त बनाउन सूचना प्रविधिको अधिकतम् उपयोग शुरू गरिएको जानकारी दिनुभयो । प्रधानन्यायाधीश पराजुलीले न्यायालयको भौतिक प्रशासनिक सेवालाई अझ सुदृढ बनाउन यथेष्ट बजेट विनियोजन गर्न माग गर्दै न्यायालयमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गर्न नहुने बताउनु भयाे।
सो अवसरमा उहाँले पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई सम्मान र उत्कृष्ट सरकारी वकिल तथा कर्मचारीलाई पुरस्कृत गर्नुभयो । विसं २००८ मा आजकै दिन महान्यायाधिवक्ताको कार्यालयको स्थापना भएको थियो ।