चितवन, ९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताउनुभयो ।
एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उहाँले अाफुहरू पुल भत्काएर अगाडि बढेको र फेरि फर्किने ठाउँ नभएकाे उल्लेख गर्नु भयाे ।उहाँले हिजो (शनिबार) र आज(आइतबार) बिहान पनि आफूले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताउनुभयो । (रासस)