काठमाण्डौ,१० पुस । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका छन् ।
सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष भएको खुलेको कार्कीले जानकारी दिए । ‘सुनबहादुर मानव बेचबिखनको आरोपमा पक्राउ परेका हुन् । उनी वडाध्यक्ष हुन् । उनको कहाँ के छ, त्यस सम्बन्धमा अनुसन्धान हुँदै छ,’ कार्कीले भने ।
प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेका छन।
स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ४९ वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।१० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए, आजकोे नयाँपत्रिका दैनिकमा खबर छ ।

