पुस १८ गतेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड रातको समय बन्द गरिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

चितवन, १२ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय भरतपुरमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो आठ घण्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए । रातिमा काम गर्ने जनशक्ति अभाव हुने र कामलाई सोचेजति छिटो गर्न नसकिने उनीहरुको भनाइ थियो । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५०० मिटर र ३३ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।