मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ छिचोलियाे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सिन्धुपाल्चोक, १५ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ आज छिचोलिएको (ब्रेकथ्रु भएको) छ । मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ।

ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनुभयो । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उहाँको प्रतिबद्धता छ । ग्याल्थुम–अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले आज रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताउनुभयो । सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम शुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ ।

यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी लगिनेछ । दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो ।