काठमाडौँ, २० पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ ।
बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति दिइएको बताउनुभयो । कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको जानकारी दिनुभयो ।
रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।
रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।
कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण केही समय समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यले गति लिएको छ । आयोजना प्रमुख कोइरालाले हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिनुभयो । कुल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६०० मिटर निर्माण सकिएको र बाँकी रहेको सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उहाँले बताउनुभयो ।