युवा व्यवसायीकाे गोली हानी हत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

बुटवल, २१ पुस ।रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ ।अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उहाँको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठ (स–मिल) मिलमा आगो तापेर बसिरहेका बेला कालो रङको पल्सर मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो । गोली प्रहार गर्ने समूह सोही मोटरसाइकलमा रोहिणीखोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै गोली प्रहारबाट स्थानीयवासी युवा पौडेल बलुको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीले बन्द गरेका हुन् । मृतक पौडेल पूर्व गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।
एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त दुर्गाका नजिकका साथी थिए ।