काठमाण्डौ,२३ पुस ।निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्माण सामग्रीहरु र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । अप्राकृतिक र अप्रत्याशित रुपमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु परेको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिनु भयो । सरकारले विना जानकारी निर्माण सामग्रीमा साँढे १२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीहरुलाई मारमा परेको महासंघको भनाई छ ।
महासंघले राज्यबाट संचालित भई सम्पन्न भईसकेका परियोजनाहरुको निर्माण कार्यवापतको भुक्तानी तत्काल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव देउजाले निर्माण कार्यवापतको रकम भुक्तानी गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको गुनासो पनि गर्नु भयो ।महासंघले भारत तथा अन्य देशहरुबाट निर्माण सामग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

