सर्वोच्चको आदेश लगत्तै डा गोविन्द केसी पक्राउ, भोलि बिहान ९ बजे अदालत उपस्थित गराइने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं,२४ पुस । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा प्राध्यापक डाक्टर गोबिन्द केसी लाई अाज साँझ अनसन स्थलबाटै पक्राउ गरिएको छ । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो । प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए ।

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै डा केसीले अदालतको चर्को आलोचना गर्नु भएको थियो । मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले आजै दायर गरेको मुद्दा सुनुवाई गर्दै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।