काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्दैछ ।पार्टी एकता गर्ने घोषणा गरेका दुई दलले गठन गरेको पार्टी एकता संयोजक समितिको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा पार्टी विचार, सिद्धान्त तथा नेतृत्वलगायतका विषयमा छलफल हुने एमाले कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भयो ।आजको बैठकमा सहमति जुटेमा संयुक्त कार्यदल गठन गर्ने दुई दलले तयारी गरेका छन ।
एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहनु भएको छ भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनु भएको छ ।