सुशील कोइराला क्यान्सर अस्पताल माघ महिनादेखि शुरु हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

नेपालगञ्ज, २६ पुस । लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन ।

अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ ।

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताउनुभयो ।