काठमाडौँ, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी हुनुहुन्थ्यो ।
लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भन्नुन्छ, “गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्याे, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।”

गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँध्नुभएको थियो ।नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती पृथ्वीनारायण शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुहुन्छ ।पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि पृथ्वीनारायण शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुहुन्छ ।

कलाकार सन्तोष पन्त पनि जनताले मानेका व्यक्ति पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु नेपाली जनताको विजय भएको बताउहुन्छ । विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारले यस दिवसमा बिदा कटौती गरे पनि यो वर्षबाट आजका दिन पुनः बिदा दिन थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव पृथ्वीनारायण शाहका दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताउनुहुन्छ ।
बीस वर्षको सानो उमेरमा गोरखाका राजा हुनुभएका शाहले विभिन्न राज्यलाई एकीकरण गरी विशाल नेपाल बनाउनुभएको थियो । (रासस)

