ललितपुर, २८ पुस ।तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ ।
चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ ।
यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।
कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उहाँले भन्नुभयो, “तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।”
चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ ।