नवलपरासी, २९ पुस । नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।
नवलपरासीको गँैडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयीत्रिवेणीको दुम्कीवासमा गरी पाँच स्थानमा प्राविधिक टोलीक्यामेरा ट्रयापिङका लागि खटिएका छन् । प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिनुभयो ।
निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताउनुभयो । साथै आवश्यक पर्ने स्थानमा हात्तीको समेत सहयोगमा काम गरिँदै छ । नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ गरिने छ ।