काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी प्रवेशमा रोक

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं,२ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ । काठमाडौं महानगरपालिकाका १७, १८, १९, २२, २४, २५ र २७ वडामा पर्ने भित्री सडकमा चारपांग्रे सवारी प्रवेशमा रोक लगाइएको हो ।

सम्पदाको संरक्षण तथा साँघुरो बाटोमा सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न महानगरको निर्णयअनुसार आजदेखि यी क्षेत्रमा चारपांग्रे सवारी संचालनमा रोक लगाइएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले बताउनु भयो ।

अबदेखि नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेङ्लबाट बाङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थहिटी लगायतका क्षेत्रमा सवारी साधन एकतर्फी मात्र जान पाउनेछन् । त्यसैगरी इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याठाबाट त्यौड, थहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको पनि डीआईजी खनालले बताउनु भयो । उहाँका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म चारपांग्रे सवारी चलाउन पाइनेछैन ।रातको समयमा सामग्रीहरु ओसार्नुपर्ने भएका कारण र मानिसको चाप नहुने भएकाले चल्न दिइने पनि उहाँले बताउनु भयो ।