छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार !

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भद्रपुर, २ माघ । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ ।

विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गर्नुभएको छ ।

हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उहाँले आफ्नो वडामा रहेका चार विद्यालयका एक÷एक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उहाँलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ ।

“मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ”, उहाँले भन्नुभयो, “तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक÷एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।”

चर्पी बनाउनका लागि उहाँले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिनुभएको छ । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गर्नुभएको छ ।(रासस)